सामाजिक न्याय र मानव अधिकार प्रवर्द्धनका लागि तपाईंको आफ्नै विचार र अनुभव सशक्त हुन्छ । यद्यपि, त्यस्ता विचार र अनुभवको प्रभावकारी प्रवाहले मात्रै संसारभरका सामाजिक न्यायका अभियन्ता, अधिकारकर्मी, विद्यार्थी, नीति–निर्माता र प्राज्ञिक तथा बौद्धिकहरूलाई प्रभाव पार्न सक्छ । तपाईंका यस्तै विचार र अनुभवको सही प्रवाहका लागि हामी तपाईंको सहयोगी बन्न प्रयास गर्छौं । यसले नयाँ सॊच र सार्वजनिक विमर्शको सिर्जना गर्ने मात्र होइन, नेपाली समाजको सामाजिक रूपान्तरणमा समेत महत्त्वपूर्ण योगदान गर्न सक्छ । आउनुहोस्, “सामाजिक न्यायका लागि लेखन” कक्षामा सहभागी भई सामाजिक न्याय र दलित मानव अधिकारका लागि हातेमालो गरौं ।
सिक्दै–सिकाउँदै
‘सामाजिक न्यायका लागि लेखन’ दलित रीडरको एक विशिष्ट अभियान हो । यसअघिका तीनओटा नेपाली र अंग्रेजी भाषाका ‘सामाजिक न्यायका लागि लेखन’ कक्षामार्फत ७५ युवा सामाजिक अभियन्ता दीक्षित भइसकेका छन् । विषयगत विज्ञ, मेन्टर र प्रशिक्षार्थीहरूको सहकार्यमा उहाँहरूले आजपर्यन्त लेखन र अध्ययनमार्फत सामाजिक न्याय र दलित मानव अधिकारको सवाललाई उठाइरहनु भएको छ । यसले सहभागीहरूको व्यक्तित्व विकासमा समेत योगदान पुगेको छ ।
नेपाली ज्ञान उत्पादन परम्पराको विभेदपूर्ण र एकांकी परम्पराले दलित सवाल सार्वजनिक बॏद्धिक विमर्शमा आउन सकेको थिएन । यद्यपि, आज सामाजिक न्याय र मानव अधिकारका सवाल संगठित रूपमा आउन थालेका छन् । हाम्रो उद्देश्य पनि सामाजिक न्याय र दलित मानव अधिकारका मुद्दामा सहजकर्ता र सहभागीहरूबीचको खुला छलफल, अन्तर्क्रिया, पृष्ठपोषणमार्फत आम सामाजिक न्याय र मानव अधिकारप्रतिको बुझाइलाई लेखनमार्फत परिष्कृत बनाउँदै लैजानु हो । यो सहकर्मीबीच सिक्दै र एकअर्कालाई सिकाउँदै जाने लोकतान्त्रिक र सहभागितामूलक अभियान हो ।
सिर्जनशील, विश्लेषणात्मक र प्रभावकारी लेखन
तपाईंले यस कक्षामा सहभागी भएर नेपाली समाजमा विद्यमान जातव्यवस्था र पितृसत्ताका कारण दलित समुदायको मानव अधिकार संरक्षणका चुनौतीविरुद्ध बोल्न, अध्ययन गर्न र लेख्नका लागि आवश्यक सीप तथा ज्ञान प्राप्त गर्नुहुनेछ । विषयबारे सिर्जनशील सोच, विश्लेषणात्मक लेखन र प्रभावकारी प्रस्तुतीकरण सामाजिक न्याय र मानव अधिकारको प्रवर्द्धनका लागि एउटा बलियो माध्यम हो । यसले लेखन कलालाई परिमार्जित गर्ने मात्र होइन जातव्यवस्था र पितृसत्ताका विविध आयामहरूलाई सही तरिकाले बुझ्न र सोही अनुररूप आलोचनात्मक ज्ञान उत्पादनमा समेत मद्दत पुग्ने छ ।
सामाजिक न्यायका लागि हातेमालॊ
कुनै पनि आधारमा मानिसबीचको विभेद र असमानता समतामूलक र न्यायपूर्ण समाज निर्माणका मुख्य अवरोधहरू हुन् । नेपाली समाजमा विद्यमान जातव्यवस्था र पितृसत्ताको गठजोडले यस्तो असमानतालाई अझ फराकिलो बनाएको छ । यसले हाम्रा सामाजिक शक्ति–सम्बन्ध र औपचारिक तथा अनौपचारिक संरचनाहरूलाई विभेदपूर्ण र असमावेशी बनाएको छ । असमानता र बहिष्करणका कारण दलित तथा अन्य सीमान्तीकृत समुदायको राज्यका स्रोत र साधनमाथि कमजोर पहुँच स्थापित गरेको छ । दलित समुदायको साक्षरता अहिले पनि ५२.४ प्रतिशत छ भने दलित महिलाको साक्षरता ४५.५ प्रतिशत मात्र छ । त्यस्तै ६०.६ प्रतिशत पहाडी दलित र ६६.१ प्रतिशत तराई दलितले स्वास्थ्य सेवाका लागि खर्च गर्न सक्दैनन् । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ कार्यान्वयनमा आइसकेपछि मात्र १६ जना दलितकॊ जातीय भेदभाव तथा छुवाछुतकै कारण हत्या भएको छ ।
विभिन्न कालखण्डका राजनीतिक तथा सामाजिक परिवर्तनका बावजुद जातव्यवस्था र पितृसत्ताका कारण दलित तथा महिलाहरू पीडित भइहेका छन् । यसका कारण गैरदलित समुदाय र पुरुषहरू पनि प्रभावित भएका छन् । फलस्वरूप नेपाली समाजको विकासको गति सुस्त हुँदै गइरहेको छ । ‘सामाजिक न्याय अध्ययन’ विद्यमान नेपाली समाजका अर्थ–राजनीतिक तथा सामाजिक–सांस्कृतिक अवरोधहरूको सही विश्लेषण र समस्या समाधानको असल प्रयास हो ।
शिक्षण विधि
‘सामाजिक न्यायका लागि लेखन’ कक्षा बाह्र हप्तासम्म हरेक हप्ताको तीन घण्टाका दरले ३६ घण्टाको हुनेछ । यस पाठ्यक्रम अन्तर्गत पठन, लेखन र प्रस्तुतीकरणका लागि आवश्यक सीप र दक्षता अभिवृद्धिका लागि सहजकर्ता तथा मेन्टरहरूले मार्गनिर्देश गर्नुहुनेछ । प्रत्येक हप्ता सहभागीहरूले तोकिएको पाठको अध्ययन, गृहकार्य र प्रस्तुतीकरणका आधारमा छलफल र संवादहरूमा सहभागी हुनुहुने छ । सहभागीहरूले दलित मानव अधिकारका विविध आयामहरूमा केद्रित रहेर आफ्नो लेखनको विषयवस्तु छनोट, मस्यौदा तयारी, संशोधन र सम्पादन गर्ने सीपहरू सिक्नुहुनेछ । सहकर्मीहरू मार्फत समीक्षा, ज्ञानउत्पादनका लागि वैकल्पिक विधिको अनुसरण, प्रयोगात्मक र कार्यमूलक लेखन र सहजकर्ता र मेन्टरहरूमार्फत सहयोग यस कार्यशालाका मुख्य विशेषता हुन् ।
सहजकर्ताहरू
जातव्यवस्था र पितृसत्ताविरुद्ध लेखन तथा अनुसन्धानका क्षेत्रमा अनुभवी सहजकर्ताहरूले यस कार्यशालालाई सहजीकरण गर्नुहुनेछ । सहभागीहरूको आवश्यकताअनुसार हामीले लेखन, प्रकाशन र अन्य विषयगत विधाका विज्ञहरूलाई पनि कार्यशालामा आमन्त्रण गर्नेछौं । कार्यशालाको हरेक सत्रहरूमा सहजकर्ताद्वारा सहभागीहरूलाई पढ्न, लेख्न र प्रस्तुतिका लागि प्रोत्साहन गरिनेछ । लेखनका लागि विषयवस्तुको छनोट, लेखनको ढाँचा निर्माण, तर्क प्रस्तुति, पुनर्लेखन र सम्पादनका लागि सहजकर्ता र मेन्टरहरूको सहयोग र मार्गनिर्देश रहने छ । कार्याशालापछि पनि मेन्टरहरूको निरन्तर लेखनकार्यमा सहयोग र मार्गनिर्देश रहने छ । सहजकर्ताका रुपमा सल्लाहकार सहजकर्ता र अतिथि सहजकर्ताका साथै मुख्य सहजकर्ताहरूको भूमिका रहने छ । चौथो ब्याचका मुख्य सहजकर्ताहरू देहायअनुसार हुनुहुने छः
१. गौरी नेपाली, लेखक, यौनिक तथा लैगिक अल्पसंख्यक अभियन्ता तथा दलित रीडरका कार्यकारी सदस्य
२. रक्षा राम, लेखक, अभियन्ता तथा अधिवक्ता
३. जनकराज सापकोटा, प्रादेशिक ब्युरो प्रमुख, कान्तिपुर दैनिक
४. कैलाश राई, लेखक, अध्येता तथा सामाजिक अभियन्ता
५. शिवहरि ज्ञवाली, लेखक तथा सामाजिक अभियन्ता
६. सुभाष नेपाली, लेखक, नीति विश्लेषक तथा अर्थराजनीतिक विज्ञ
आवेदनका लागि न्यूनतम योग्यता
आवेदनका लागि आवश्यक सामग्रीहरू
· यस लेखन कार्यशालामा सहभागी हुन तपाईंले तोकिएको लिंकमा गई आवेदन दिनु पर्नेछ । उक्त आवेदनसँगै पेस गर्नुपर्ने सामग्रीहरू यस प्रकार रहेका छन्ः
o सहभागिताका लागि उत्प्रेरणाः तपाईं यस लेखन कार्यशालामा किन सहभागी हुन चाहनुहुन्छ ? १०० देखि २०० शब्दमा लेख्नुहोस् ।
o नमुना लेखनः तपाईंले यो कक्षामा सहभागी भई लेख्न चाहेको कम्तीमा एउटा लेखको विषय, सन्दर्भ सामग्री, तथ्यांक, घटना वा अन्य आवश्यक जानकारीहरू समेटेर २ देखि ३ अनुच्छेदको एक सामग्री तयार गरी निवेदनसँगै पेस गर्नुहोस् ।
कक्षाका सर्तहरू
कक्षा शुल्क
दलित रीडरको यस कक्षाका लागि अलम्नाई इन्गेजमेन्ट इन्नोभेसन फण्ड (Alumni Engagement Innovation Fund) अन्तर्गत नेपालस्थित अमेरिकी दूतावासको आर्थिक सहयोग रहेको छ । त्यसकारण यो लेखन कार्यशाला पूर्ण रूपमा निःशुल्क हुनेछ ।
कक्षा तालिका
जानकारी तथा प्रश्नोत्तर सत्रः १७ डिसेम्बर २०२२ (२०७९ पौष २)
आवेदन दिने अन्तिम मितिः २५ डिसेम्बर २०२२ (२०७९ पौष १०)
कक्षाका लागि छनोट भएका उम्मेद्वारहरूको नामावली घोषणाः ७ जनवरी २०२३ (२०७९ पौष २३)
अभिमुखीकरण कक्षाः १२ जनवरी २०२३ (२०७९ पौष २८)
कक्षा भर्ना सञ्चालनः १४ जनवरी २०२३ सम्म (२०७९ पौष ३० सम्म)
कक्षा सुरुः २२ जनवरी २०२३ (२०७९ माघ ८)
कक्षा सञ्चालन हुने समयः हरेक हप्ताको आइतबार बिहान ७ बजे देखि १० बजे सम्मकक्षा संचालन हुने
कक्षा सञ्चालन हुने स्थानः मार्टिन चौतारी, जितजंग मार्ग, थापाथली, काठमाडौं
रुकमणी नेपाली, कार्यक्रम संयोजक
ईमेलः wsj.dalitreader@gmail.com
मोबाइलः +९७७ ९८४१४४८२३५
पुनश्चः कुनै विपद्जन्य महामारीको अवस्था सिर्जना भएमा यो कक्षा भर्चुअल माध्यममार्फत् पनि सञ्चालन गर्न सकिनेछ । आवेदनका लागि दलित महिला, मधेसी दलित, अपाङ्गता भएका व्यक्ति तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रोत्साहित गर्दछौं ।