छुवाछूतको कुरा उठेपछि उम्मेद्वार नै टाप

शिवहरि ज्ञवाली

डोमहरु स्थानीय गैरदलितहरुको अन्याय र विभेदविरुद्ध बोल्न नसक्नुको मुख्य कारण हो जमीनमाथिको स्वामित्व । पुस्तौंदेखि ऐलानी जग्गामा बसेका यहाँको डामहरुको कसैको पनि आफ्नै जग्गा र लालपूर्जा छैन । केही वर्षअघिसम्म भोगचलन गर्दै आएको जग्गा पनि गैरदलितहरुले ‘रामजानकी’ मन्दिरको नाममा तीन भागको दुईभाग कब्जा गरिसकेका छन् । बाँकीमा पनि वस्तिको करिब एक किलोमिटर दक्षिणमा ६० फिट अग्लो ‘बुद्ध मुर्ति तथा पर्यटन स्थल’ बनाउने र त्यहाँ जानका लागि बाटो बढाउनु पर्ने भन्ने निहुँमा पूरै डोम बस्ति विस्थापित गराउने योजना बन्दैछ । स्थानीयहरुका अनुसार यस कार्यको नेतृत्व गरेकी छिन् एमालेकी ‘सांसद’ भगवती चौधरी ।

“एक दिन बौवा स्कुल स आवइबखत कहलत् माई ! अर् सवका चाय देलक, अपनेका किया नइदेलक ?”

भर्खर स्कुल जान थालेको सानो छोराले यस्तो प्रश्न गरेपनि सुनसरीको गढी नगरपालिका–२ औरावानी, ‘डुमराही’ टोलकी मिना मरिकको मुटुमै गाँठो प¥यो । केही दिनअघि गाउँमा भएको छलफलमा मिना छोरालाई डोहो¥याउँदै गएकी थिइन् । कार्यक्रमपछि नजिकैको ‘हरिया’को मिठाइ पसलमा सबैले चिया र खाजा खाए । तर, मिना न त आफूले खान पाइन् न त छोरालाई नै खुवाउन पाइन् । मिनाले आँशु झार्दै प्रश्न गरिन्, “हामीले त जन्मेदेखि नै भेदभाव भोग्यौ । बच्चाहरुले यस्तो देखेपछि कसरी अगाडि बढ्न सक्छ ?”

सुनसरीको दुहवीबाट इनरुवातर्फको करिब १५ मिनेटको बस यात्रापछि ‘भमरी’ बजार पुगिन्छ । बजारमा अधिकांश शाह (तेली)हरुको मिठाइ, चिया–नास्ता, किराना र तरकारी पसलहरु छन् । केही पसलहरु चौधरीहरुका पनि छन् । बजारको दक्षिणतर्फ बीस मिटरको दूरीमा अस्थायी प्रहरी चौकी, औरावानीको पक्की भवन छ र त्यसैको छेउँमा छ पाँच पुस्ताअघिदेखिको १५ घर डोम परिवार । साविकको औरावानी–९ र हालको गढी नगरपालिका–२ मा पर्ने यो वस्तिलाई ‘डुमराही’ भन्छन् ।

गत वर्ष जेठको अन्तिम शनिवार बिहान आठै बजे इटहरीका साथी दीपनारायण मेहता र म ‘डुमराही’ पुग्यौं । बस्तिको बीचमा रहेको आँपको छहारीमा डोम समुदायका महिला, पुरुष र उमेर पुगेकाहरु पनि ‘विन्नी’ र ‘ढकिया’ बुन्दै थिए । केटाकेटीहरु नाङ्गै–भुतुङ्गै धूलोमा खेल्दै थिए । यो वस्तिका लागि पंखा÷एसी जे भनेपनि यहीँ बुढो आँप हो ।

फुसले बारेका घर र सँगै टाँसिएका सुँगुरका खोरहरुबाहेक वस्तिमा अरु खासै केही छैन । न त विजुली न त शौचालय र खानेपानीको धारा । बजार र यो वस्तिलाई बाँसको बारले छुट्याइएको छ । वस्तिको छेउँमै रामजानकी मन्दिर छ । ‘डोमहरु’ आँगन छेउको मन्दिर त के बजारका पसलहरुभित्र पस्न, बस्न र चिया खान समेत पाउँदैनन् ।

तराई–मधेशको बढ्दो तापक्रम, चुनावले अझै तताउँदै थियो । हामी पुग्नुभन्दा केही मिनेटअघि संघीय समाजवादी फोरमका तर्फबाट गढी नगरपालिकाका मेयरका उम्मेद्वार भानु हजारी, नेपाली काँग्रेसका लक्ष्मीनारायण चौधरी र एमालेकी महिला वडा सदस्य नानुमायाँ चौधरी वस्तिमा पुगिसकेका थिए । उनीहरुको अनुहार र बोलीमा बाहिरबाट आउने मान्छेले दलितहरुलाई भड्काएर ‘भोट ब्याङ्क’ घटाइदिनेहुन् कि भन्ने डर प्रष्टै देखिन्थ्यो । २०६८ को जनगणनाअनुसार साविकको औरावनी गाविसको कूल जनसंख्याको १६ प्रतिशत दलितहरु छन् ।

‘डुमराही’की सबैकी पाकी आमा हुन् लक्ष्मी मरिक (६२) । लक्ष्मीको आँखै वरिपरि चारवर्षअघिको एउटा घटना घुमिरहन्छ । होटलमा गिलास छोएको आरोपमा उनका जेठा छोरालाई स्थानीय गैरदलितहरुले मरणासन्न हुनेगरी कुटपिट गरे । प्रहरीमा उजुरी गर्दा प्रहरीले ‘जुन भाँडोमा दिन्छ, उसैमा खाए खाने नत्र नखाने’ भनेर उल्टै धम्याए । कुटपिटको डरले छोरालाई दुई हप्तासम्म आफन्तकोमा लुकाएर राखिन् । उनी भन्छिन्, “हामीले धेरै भेदभाव भोग्यौं यो ठाउँमा । मन्दिर र धारामा मात्र होइन खुल्ला ठाउँको रुखको छहारीमा समेत बस्न दिँदैनन् ।”

गीतादेवी मरिक (४०) वस्तिकी जान्नेसुन्ने महिला हुन् । गाउँका विभिन्न समूह र सहकारीमा उनको नाम छ । गीतादेवीले विभेदको पोको फुकाउँदै भनिन्, “दोकानमा छिर्न दिँदैनन् । सामान किन्ने बाहिरैबाट हो । उनीहरुले नै आफै छानेर दिने गर्छन् । बिग्रेको तरकारी पनि हाम्ले छान्न पाउँदैनौ ।” उनले थपिन् “कागजमा नास्ता दिन्छन् । दूध हालेको चिया हामीलाई सकेसम्म दिँदैनन्, दिनै परेपनि प्लाष्टिकको गिलासमा पसलबाहिर दिन्छन् ।”

काँग्रेसका नेता लक्ष्मीनारायण चौधरीले बल्ल मुख खोले । यसअघि गाउँमा छुवाछूत नभएको र केही बुढा–पाकाले मात्रै छुवाछूत गर्ने गरेको बताउँदै थिए । महिलाहरुको कुरा सुनेपछि उनले मिलाएर भने “दुई वर्षअघिसम्म डोमहरु चिया खानुप¥यो भने घरबाटै गिलास बोकेर जानुपर्ने बाध्यता थियो । अझै पनि गैरदलितहरुले खाने गिलास काँच वा स्टिलको हुन्छ भने दलितका लागि चिया पकाउने भाँडो समेत बेग्लै हुन्छ ।” तर, उनी यसको दोष डोमहरुले सरसफाइमा ध्यान नदिनुलाई दिन्छन् । यता भानु हजारी चौधरीलाई “मरिकभन्दा पनि अरु फोहोरी समुदाय छ । सुँगुर थारुहरुले पनि पाल्छन् । आजभोलि बाहुन, क्षेत्रीहरुले पनि पाल्छन् तर, डोमहरुमाथिमात्र विभेद किन ?” भनेर उल्टै प्रश्न गर्छन् । चौधरी चुप्प लाग्छन् । केही महिलाहरुले घरभित्रैबाट ‘चौधरीले पनि कम्ती हेप्छ’ भनेको सुनिन्छ ।

हजारीको नेतृत्वमा पाँच वर्षअघि डोमहरुलाई पसलमा प्रवेश गराउनका लागि पहल भएको थियो । त्यत्तिबेला उनलाई अन्य राजनीतिक दलहरुले साथ दिएनन् । पसलेहरुले डोमलाई चिया–खाजा खुवाउनु परे पसलै बन्द गर्ने धम्की दिए । “सार्वजनिक कार्यक्रममा डोमहरु भन्ने थाहा पाउने वित्तिकै बाहिर काठमाडौंतिरबाट आउने बाहुन–क्षेत्रीलाई पनि पेट दुख्छ ।” हजारीले व्यङ्ग्य गर्दै अर्को रहस्य खोले ।  

डोमहरु स्थानीय गैरदलितहरुको अन्याय र विभेदविरुद्ध बोल्न नसक्नुको मुख्य कारण हो जमीनमाथिको स्वामित्व । पुस्तौंदेखि ऐलानी जग्गामा बसेका यहाँको डामहरुको कसैको पनि आफ्नै जग्गा र लालपूर्जा छैन । केही वर्षअघिसम्म भोगचलन गर्दै आएको जग्गा पनि गैरदलितहरुले ‘रामजानकी’ मन्दिरको नाममा तीन भागको दुईभाग कब्जा गरिसकेका छन् । बाँकीमा पनि वस्तिको करिब एक किलोमिटर दक्षिणमा ६० फिट अग्लो ‘बुद्ध मुर्ति तथा पर्यटन स्थल’ बनाउने र त्यहाँ जानका लागि बाटो बढाउनु पर्ने भन्ने निहुँमा पूरै डोम बस्ति विस्थापित गराउने योजना बन्दैछ । स्थानीयहरुका अनुसार यस कार्यको नेतृत्व गरेकी छिन् एमालेकी ‘सांसद’ भगवती चौधरी ।

बजारमा डोमहरुमाथि हुने विभेदकाविरुद्ध गएको वर्ष पनि स्थानीयले प्रहरीमा उजुरी गरे तर प्रहरीले उल्टै समाजमा मिलेर बस्नका लागि दवाव दियो भन्छिन् बविता मरिक । उनले भनिन्, “सबै मरिक गए गुज्रेका छन् भन्दै हेप्छन्, हामी लड्न सक्दैनौं । लडे पनि कहिलेसम्म लड्ने ? गैरदलितसँग लड्ने कि छोराछोरीलाई बढाउन तिर लाग्ने? झगडा ग¥यो भने त हामीलाई उठिवास लगाइदिन्छ ।”

हामी पुगेको एक घन्टा पुग्नै लागेको थियो । खाना खाएर आँपको छहारीमा सुस्ताउनेहरुको भीड विस्तारै बढ्दै थियो । केही डोम युवाहरुले गैरदलितको हेपाइ अब सहन नसक्ने भन्दै बजारमा जबरजस्ति प्रवेश गर्ने तयारी गर्न थाले । युवाहरुको जोशका अगाडि भानु हजारी, लक्ष्मीनारायण चौधरी र नानुमायाँ चौधरी ‘चुनावको मुखैमा जातपातको कुरा उठाउँदा आफूलाई असर पर्ने’ भन्दै बजार प्रवेशमा असहमती जनाउँदै आ–आफ्नो बाटो लागे । तर, त्यतिञ्जेलसम्म युवाहरुमात्रै होइन महिलाहरु पनि उनीहरुको कुराकानी सुन्ने पक्षमा थिएनन् । अन्त्यमा बजार प्रवेश गरिछाड्नेहरुकै जित भयो ।

औरावानी म दोस्रो पटक पुगेको थिएँ । अलिअलि डर लाग्न थाल्यो । तर, बजार प्रवेशको नेतृत्व मेरै हजुरआमाको उमेरकी ‘लक्ष्मी मरिक’ले गरेपछि मेरो डरले हावा खायो । लक्ष्मीलाई साथ दिए गीता, बबिता र मिनाले । युवाहरुको दश–बाह्र जनाको टोली गैरदलितहरुले आक्रमण गरेमा सहयोगका लागि पछाडि बस्यो । मैले ‘प्रहरीलाई पनि खबर गरौं’ भने मधेशमा नेपाल प्रहरीप्रति जत्ति अविश्वास अरु कुनै सरकारी कर्मचारीहरुसँग छैन । मेरो प्रस्ताव सिधै फेल भयो । आखिर चारजना महिलाहरु बजार प्रवेश गरिछाड्ने भनेर बजारतिर लागे । म क्यामेरा लुकाउँदै र भिडियो खिच्दै उनीहरुको पछि–पछि लागें । 

बजारको चोकैको ‘हरिया’को पसलमा पस्न नपाउँदै पसल्नी आमै बाहिर निस्किइन् र पसल बन्द गर्ने धम्की दिइन् । गिता मरिक र लक्ष्मी मरिक जबरजस्ती भित्रै छिरेर चिया बनाउन भन्दै थिए । तर, पसल्नी अरुकोमा नै गएर चिया खाऊ म दिन सक्दिन भन्दै ढोका लगाउन तम्सिइन् । केही उपाय नलागेपछि महिलाहरुको टोली नजिकैको नन्दकिशोर शाहको चियाको पसलमा पस्यो । नन्दकिशोरकी श्रीमती चिया बनाउँदै थिइन् । पसलमा चिया खानेहरुको भिड थियो तर चार जना डोम महिलाहरु पसलतर्फ आउँदै गरेको देखेपछि उनीहरु आधा गिलास चिया छोडेरै उठे । नन्दकिशोरले डोमहरुलाई कुनै पनि हालतमा चिया नदिने अडान लिए । उनकी श्रीमती “पान पसलमा चिया बन्दैन” भन्दै कराउँदै थिइन् । तर, उनको हातमा चियाका चारवटा जुठा गिलास र ग्यासचुलोको किट्लीमा पाक्दै गरेको चिया थियो ।

औरावानीमा प्रमोद शाहको चिया–नास्ता पसल जेरी, पुरी र तरकारीका लागि प्रशिद्ध छ । तर, उनकी आमाले डोम महिलाहरुलाई पसलको अगाडि समेत पर्न दिइनन् । बविता मरिक एक्लै पसलभित्र पसेर समोसा देखाउँदै कति पैसा हो भनेर सोधिन् । प्रमोदकी आमाले जेरीको तेलमा डुवाएको डाडु उज्याउँदै सामान नछुन धम्की दिइन् । उनले भन्न्,ि “मेरो पसलको सामान बेचुँ–नबेचुँ मेरो मर्जी ।”

विनोद शाहको पसलमा केही गैरदलित युवाहरुको भीड थियो । लक्ष्मी नेतृत्वको टोली ती युवाहरुलाई धकेल्दै पसलभित्र पस्यो । विनोदकी श्रीमती जेरी पकाउँदै थिइन् । सुरुमै पसलभित्र नपस्न धम्की दिइन् । तर, त्यतिञ्जेल बजारका धेरै मान्छेहरु डोमहरु पसल–पसल पस्दै हिँडेका छन् भन्ने थाहा पाएर हेर्नका लागि जम्मा भइसकेका थिए । उनको धम्कीका सामु लक्ष्मीको टोली मान्नेवाला थिएन । गिताले जेरी पकाउँदै गरेको डाडु समाउन थालेपछि विनोद जेरी दिन तयार भए तर “मिडिया वालाले डोमहरुसँगै खानुपर्छ” भन्ने सर्तमा । मैले एक प्लेट जरी मगाएँ र डोम महिलाहरुसँगै खाएँ । मैले विनोद र उनकी श्रमिती, छोरी र छोरालाई पनि ‘खानुस् न’ भनें तर उनका छोरालेबाहेक अरु कसैले खाएनन् । त्यो दिन परिवारका सबैैको पेट दुखेको रहेछ ।

बजारका पाँच पसलमा पस्दा चिया–खाजा खान त पाएनौं । तर, डोम महिलाहरु पहिलो पटक गैरदलितहरुको पसलभित्रमात्र होइन भान्सासम्मै पुगे । हाकाहाकी हामीलाई किन डोम भनेर हेप्छौ भन्दै कठालो समाते । बजार एकफन्को मारेपछि उनीहरु बीच सडमा उभिएर “अब हामीहरु तिमीहरुलाई ढकिया पनि बेच्दैनौ” भन्दै गैरदलितहरुलाई लल्कारे ।

मलाई डर लागिरहेको थियो । झन्पछि झन् मान्छेहरु जम्मा भइरहेका थिए र मलाई ‘तँ को हो ?’ भन्दै सोधीरहेका थिए । म सरासर नजिकैको प्रहरी कार्यालयमा पसें । प्रहरीलाई डोमहरु वर्षौंदेखि बजारका पसलहरुमा पस्न नपाउएको र बारम्बार दलित भएकै कारण अपमाननित हुनु परिरहेको थाहै नपाएजस्तो गर्दै थियो । प्रहरी कार्यालयका इन्चार्ज मनोज कुमार खड्कले आफूले घटनाको तत्काल अनुसन्धान गर्ने बताए । हामीले उजुरी लेखेर दिने निर्णय ग¥यौं । सवा दश हुनै आँटेको थियो । त्यहाँ बस्नु सुरक्षाका दृष्टिले पनि उचित थिएन । दीपक र म इटहरितर्फ हान्नीयौं ।

जेठ २५ मा दीपकले प्रहरीमा लिखित उजुरी त गरे तर वकिलले नेपाली कागजमा लेखेको उजुरी मात्र लिने भन्दै प्रहरी कार्यालयले फर्कायो । अर्कोदिन फेरि उजुरी गर्दा प्रहरीले उजुरी त लियो तर दर्ता गर्न मानेन । प्रहरीले उल्टै “हामीले त मिलाउने हो मुद्दा नै दर्ता गर्ने हो भने दुहवी जानुस्” भनेर पठायो । दीपक दुहवी पुगे त्यहाँ पनि प्रहरीले उल्टै मिल्नुको विकल्प छैन भनेर फर्कायो ।

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अनुसार कसैले जातीय भेदभाव तथा छुवाछूत गरे वा गराएमा अधिकतम तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । त्यसमा पनि यस्तो कार्यमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु संलग्न भएमा वा प्रोत्साहन गरेमा दोब्बर सजाय हुने कानुनी व्यवस्था छ । तर, छुवाछूतजस्तो गम्भीर मानवअधिकार उल्लङ्ग्घन र सरकारवादी मुद्दाको समेत उजुरी दर्ता नगर्ने प्रहरी अधिकारीलाई कारवाही गर्ने कस्ले ?

नेपाल सरकारले आजभन्दा ११ वर्षअघि नै नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषाणा गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा सरकारले जेठ २१ गतेलाई छूवाछुत मुक्त दिवशको रूपमा मनाउने घोषणा गरेको थियो । २०७३ भदौमा सरकारले छुवाछूत तथा जातीय भेदभावको अन्त्यका लागि केन्द्रमा प्रधानमन्त्रीको संयोजकत्वमा समन्वय समिति, मुख्य सचिवको संयोजकत्वमा निर्देशन समिति र जिल्ला तहमा समन्वय समितिहरुको कार्यविधि समेत तय गरेको छ । तर, समितिको कार्यविधि बनिसकेपछि काभ्रे, चितवन र काठमाडौंमा जातीयताकै आधारमा भएका दुईवटा हत्या र तीन जना दलित बालिकाहरुको बलात्कारपछिको हत्या हुँदा समेत समितिको बैठक बस्दैन । छुवाछूतविरुद्ध संविधान, कानुन र सरकारका घोषणाहरु कागजमै सीमित छन् । शक्तिमा रहेकाहरुले धर्मको आडमा बनाएका सामाजिक कानुनहरु दिनानुदिन कठोर हुँदै गएका छन् । र, ‘डोमहरु’ अझै पनि पसल र मन्दिरमा प्रवेशका लागि संघर्ष गर्दैछन् भने उनीहरुकै नाममा राजनीति गर्नेहरु दलितका समस्या सुन्नुपर्ला भनेर भाग्दैछन् ।

Related Blog

Leave a CommentYour email address will not be published.